काठमाडौं चैत १०। 
माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षा आजबाट सुरु भएको छ । यस बर्षको एसइई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागि हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने छन् । पहिलोपटक सङ्घीय संरचनाको ढाचाँमा हुने एइई परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । एसइई मा सहभागि परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् ।
त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८ सय १८ सहभागि हुनेछ । प्रदेश १ मा सबै भन्दाबढी मोरङबाट १८ हजार ३ सय ५२ ले परीक्षा दिनेछन् ।
प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।
परीक्षामा देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९ सय ६९ केद्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।
मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए । एसइईकालागि प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिंदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताए ।
परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए ।
परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् ।
गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

© Nepali horoscope