एजेन्सी, चैत १३
नायक अनमोल केसी हाल चलचित्र ‘ए मेरो हजुर ३’ मा ब्यस्त छन् । उनको चलचित्र ‘क्याप्टेन’ प्रदर्शनरत छ भने नायिका झरना थापाको चलचित्र ‘ए मेरो हजुर’मा उनले काम गरिरहेका छन् ।
यसैबीचमा अनमोललाई बलिउडबाट अफर आएको चर्चा छ । उनलाई फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’का निर्देशक पेमा धोन्डुपले बलिउड फिल्मका लागि अफर दिएको बताइएको छ ।
यद्यपि, यस विषयमा अनमोलले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, खबरका अनुसार अनमोलले उक्त फिल्मको कन्सेप्ट भने सुनिसकेका छन् । अनमोलले काम गर्ने पक्का भए उक्त फिल्ममा बलिउड नायिका जान्हवी कपूरसँग अनमोलको जोडी बाँधिने भएको छ । निर्देशक पेमा उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई अफर गर्ने सोचमा रहेको बताइएको छ ।
उक्त फिल्ममा अनमोलले काम गर्ने भएमा उनलाई ७० देखि ८० लाख रुपैयाँसम्म पारिश्रमिक दिन निर्माण टिम तयार देखिएको बताइएको छ । यसैगरी उक्त फिल्ममा बलिउड अभिनेता गुलशन ग्रोवरको पनि अभिनय रहने बताइएको छ ।
गुलशनले पेमाको चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’मा अभिनय गरिसकेका छन् । उक्त फिल्म चैत १ गतेदेखि प्रदर्शनमा आएको थियो ।