विराटनगर, चैत १३
प्रहरीले प्रतिबन्धित नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने गोठगाउँबाट बुधबार बिहान प्रज्वल उपनाम गरेका इन्चार्ज श्रेष्ठलाई प्रहरीको विशेष टोलीले बास बसेको घर घेरा हालेर पक्राउ गरेको हो ।
मोरङ प्रहरी स्रोतकाअनुसार पक्राउ गरिएका इन्चार्जप्रज्वललाई अनुसन्धानका लागि सुनसरी लगिएको छ । आइतबार मोरङको कानेपोखरी गाउँपालिकास्थित बयरबन, नारायण चौकबाट विप्लव समूहका कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र सदस्य माधव गौतमलाई पक्राउ गरेको थियो ।
उनीहरू दुवैलाई इलाका प्रहरी धरानले हिरासतमा राखेर संगठित अपराधअन्तर्गत मुद्दा चलाएको छ ।